बिचौलियाहरुको छानबिन गर्न सर्वोच्च अदालतको पूर्ण बैठक अर्थात् फुलकोर्टद्धारा ध्यानाकर्षण
काठमान्डौ, १६ कार्तिक । प्रधानन्यायाधीश र केही न्यायाधीशहरूको नाम जोडेर पछिल्लो समय आएका खबरप्रति सर्वोच्च अदालतको फुलकोर्ट अर्थात् पूर्ण बैठकले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
प्रधानन्यायाधीश मनोजकुमार शर्मासहित सर्वोच्च अदालतमा बहालवाला सबै न्यायाधीशहरूको सहभागितामा आज बसेको बैठकले पछिल्ला घटनाक्रम र न्यायालयभित्र उठेका विषयहरूमाथि विस्तृत छलफल गरेको हो । बैठकले संविधान र कानूनको सर्वोच्चताप्रति आफूहरूको अटल आस्था र प्रतिबद्धता रहेको स्पष्ट पार्दै यस विषयमा विना पूर्वाग्रह, निष्पक्ष एवम् स्वतन्त्र ढङ्गले छानबिन गर्न सम्बन्धित निकायसँग आग्रह गरेको छ । साथै कानूनबमोजिम हुने छानबिन तथा अनुसन्धानमा पूर्णरूपमा सहयोग र जवाफदेही बन्न सर्वोच्च अदालत तयार रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
यसैगरी न्यायपालिका आम नागरिकको आस्था र विश्वासमा टिकेको संस्था भन्दै अदालतले छानबिनको आधिकारिक निष्कर्ष नआउँदै कसैलाई लाञ्छित गर्ने वा न्याय सम्पादनको कार्यमा अवरोध पुग्ने किसिमले समाचार सम्प्रेषण नगर्न आग्रह गरेको छ ।

प्रतिकृया दिनुहोस