पूर्व प्रधानमन्त्री नेपाल र तत्कालीन मन्त्री रिजाल सहित ९७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमान्डौ, १७ कार्तिक । पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र तत्कालीन मन्त्री मिनेन्द्र रिजाल सहित ९७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
सुनसरीको इटहरीमा रहेको रिजाल एन्ड कम्पनीका नाममा ६० बिघा जग्गा छुट दिएर भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा मुद्दा दायर गरेको हो । यस प्रकरणमा तत्कालीन मन्त्रिपरिषद्बाट जग्गा सट्टापट्टा सम्बन्धी निर्णय गराएर बिक्री गरेको आरोप रहेको छ । अख्तियारले उनीहरूविरुद्ध ७३ करोड ४९ लाख ५६ हजार रुपैयाँ बिगो दाबी गरेको छ । मुद्दा दायर भएका ९७ मध्ये ५३ जनालाई जग्गा जफत गर्ने प्रयोजनका लागि प्रतिवादी बनाइएको छ ।
त्यस्तै तत्कालीन मुख्यसचिव माधव घिमिरेको निधन भइसकेकाले उहाँँको परिवारलाई विपक्षी बनाइएको छ । यस्तै पूर्वसचिव छविराज पन्त, पूर्वसहसचिव, तत्कालीन उपसचिवहरू लगायतलाई पनि प्रतिवादी बनाएको छ । पूर्व प्रधानमन्त्री नेपालविरुद्ध यसअघि पतञ्जली जग्गा हिनामिना प्रकरणको मुद्दा पनि विशेष अदालतमा विचाराधीन रहेको छ ।

प्रतिकृया दिनुहोस