“सुबोधका गीतहरू” एल्बम तथा भजन–राष्ट्रिय गीत भव्य समारोहका बीच सार्वजनिक
काठमाण्डौँ, १८ मंसिर । सुबोध फाउण्डेशन यूकेको आयोजनामा तयार गरिएको “सुबोधका गीतहरू” (युट्युबमा समेत उपलब्ध भजन तथा राष्ट्रिय गीत सहित) को लोकार्पण समारोह बुधबार ललितपुरको चाकुपाटस्थित युनिभर्सल इन्जिनियरिङ एण्ड साइन्स कलेजमा सम्पन्न भएको छ ।
युवा पुस्तालाई सिर्जनात्मक लेखन, प्रेरणा तथा सकारात्मक सोचतर्फ उन्मुख गराउने उद्देश्यले फाउण्डेशनले तयार पारेका सबै गीतहरूको संगीत वरिष्ठ संगीतकार भूपेन्द्र रायामाझीले गर्नुभएको छ ।
कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ संगीतकार प्रा. दीपक जंगम, विशिष्ट अतिथि केशवराज राजभण्डारी र मुकुन्द प्रसाद तिमिल्सिनाको उपस्थितिमा डायरी तथा गीतहरूको औपचारिक लोकार्पण गरिएको थियो ।
कार्यक्रममा वरिष्ठ गायिका ज्ञानु राणाको पनि विशेष उपस्थिति रहेको थियो । संचालन लोकप्रिय गायक तथा संचारकर्मी कपिल कसपालले उत्कृष्ट ढङ्गले गर्नुभयो ।
समारोहमा गीतकार सुबोध तिमिल्सिनाका भजन तथा स्वदेशगानहरू प्रस्तुत गरिएका थिए ।
उक्त प्रस्तुति ज्ञानु राणा, बिजय नारायण मानन्धर, सुबाश मण्डल, कमल बिष्ट, तथा बालगायिका सान्वी यादवलगायत कलाकारहरूले आफ्ना सुरिलो आवाजले दर्शकलाई मन्त्रमुग्ध पारे ।
वरिष्ठ गायिका ज्ञानु राणाले आफ्ना पुराना लोकप्रिय गीत सुनाउँदै सबैलाई भावुक बनाउनुभएको थियो ।
प्रमुख अतिथि प्रा. जंगमले बेलायतमा रहेर पनि नेपाली गीत–संगीत क्षेत्रलाई योगदान पु¥याएकोमा गीतकार सुबोध तिमिल्सिनाको प्रशंसा गर्नुभयो ।
विशिष्ट अतिथि पूर्व मुख्यसचिव तथा निर्वाचन आयुक्त केशवराज राजभण्डारी र व्यवसायी मुकुन्द प्रसाद तिमिल्सिनाले पनि तिमिल्सिनाको सिर्जनात्मक योगदानको प्रशंसा गर्नुभयो ।
फाउण्डेशनका अध्यक्ष तथा गीतकार ई. सुबोध तिमिल्सिनाले आफ्ना भजन तथा गीतहरूले युवालाई अनुशासन, नियमित लेखन र जीवनयात्राको अभिलेख राख्न प्रेरित गर्ने बताउनुभएको छ ।
फाउण्डेशनले इन्जिनियरिङ क्षेत्रमा सामाजिक छात्रवृत्तिमार्फत जेहेन्दार विद्यार्थीलाई सहयोग गर्दै आएको र चाँडै पुल्चोक इन्जिनियरिङ कलेजसँग समझौता हुने प्रक्रिया अघि बढिरहेको जानकारी पनि दिनुभयो ।
त्यसैगरी विश्वका विभिन्न विश्वविद्यालयमा छात्रवृत्ति उपलब्ध गराउने योजनासमेत प्रस्तुत गरिएको छ । कार्यक्रममा कलाकार तथा स्रष्टाहरूलाई मायाको चिनोद्वारा सम्मान गरिएको थियो ।
समारोहमा प्रमोद ढुंगाना, हेम सुवेदी, गोपि कृष्ण थापा, प्रकाश गम्भीर सिंह रायमाझी, सरद पोखरेल, रितु कडेल, संगीता अधिकारीलगायत कलाकार, विद्यार्थी, समाजसेवी तथा अन्य अतिथिहरूको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस