.

नीर शाहलाई १ लाख ५१ हजार रुपैयाँ राशिको ‘अमर भावना राष्ट्रिय स्रष्टा सम्मान’

काठमान्डौ, १२ असोज ।    कलाकार तथा गीतकार निर शाह ‘अमरभावना राष्ट्रिय स्रष्टा सम्मान’द्वारा सम्माति हुनु भएको छ । 

 

गीतकार संघ नेपालको १७ औं वार्षिकोत्सवको सुअवसरमा आयोजित कार्यक्रममा शाहलाई नगद  १ लाख ५१ हजार सहित सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको हो । भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा आइतबार साँझ आयोजित कार्यक्रममा प्रतिष्ठित गीतकार किरण खरेल र संघका अध्यक्ष वसन्त बित्यासी थापाले शाहलाई सम्मान प्रदान गर्नुभयो । कार्यक्रममा अन्य थुप्रै महानुभावहरुलाई पनि नगद सहित सम्मान गरिएको थियो ।  गीतकार शाहका ‘बादल बनाई देऊ आकार बदल्न सकुँ’, ‘गहिराइमा डुब्दै नडुब’, ‘पर्खी बसेँ आउला भनी’, ‘कहिलेकाहीँ हाँस्छु धेरै नै हाँस्छु’, ‘तिमीसँग डुङ्गामा घुम्दा घुम्दै फेवाताल’, ‘खुल्दैन ताल्चा त्यो ढोकाको’, ‘हिउँभन्दा चिसो, आगोभन्दा तातो’, ‘आँखैमा कसैको तस्बिर’, ‘अर्को जुनी चाहिँदैन मलाई’, ‘प्यारी वसन्ती’ र ‘पसिनाको जलैले’ लगायतका गीत चर्चित रहेका छन्। यसैगरी, यस वर्षको ‘डायस्पोरा गीतकार सम्मान’ गीतकार नीलम आङ्बुहाङ राईलाई नगद १५ हजारसहित प्रदान गरिएको छ। विदेशमा रहेर पनि नेपाली गीत लेखनमा सक्रिय राईका ‘पुरानो हुँदैन माया’ र ‘पानी मिठो मेरो हजुर इलाम बजारको’ लगायतका गीत चर्चित छन् । यस्तै ‘विष्णु मन्सरा घले मातृभाषा गीतकार सम्मान’ लोहोरुङ राई भाषाका स्रष्टा नइन्द्र लोहोरुङ राईलाई नगद २५ हजार २५२ सहित प्रदान गरिएको छ। यसैगरी ‘हरिभक्त बुढाथोकी प्रतिभा गीतकार सम्मान–२०८२’ बाट गीतकार सुशीला पौडेल र अरुण तिवारीलाई जनही १५ हजारसहित सम्मान गरिएको छ ।

 

यसैबिच कार्यक्रमको संयोजन र सञ्चालन वरिष्ठ संचारकर्मी, गीतकार संघ नेपालका आजीवन सदस्य एवं रेडियो आहाका अध्यक्ष तथा प्रवन्ध निर्देशक हेम सुवेदीले गर्नु भएको थियो । अफिसियल रेडियो पर्टनरको रुपमा रेडियो आहा १०४.५ मेगाहर्ज रहेको थियो । यसका साथै रेडियो आहा १०४.५ मेगाहर्जले कार्यक्रमको प्रत्यक्ष प्रशारण समेत गरेको थियो । 

प्रतिकृया दिनुहोस
↑