.

चाडपर्व लक्षित गरी देशभरि ५० हजारभन्दा बढी प्रहरी परिचालन

काठमान्डौ, ३ कार्तिक ।     नेपाल प्रहरीले दशैँ, तिहार, छठ लगायत चाडपर्व लक्षित गरी देशभरि ५० हजारभन्दा बढी प्रहरी जनशक्ति परिचालन गरेको छ । 

 

चाडबाडका बेला हुन सक्ने सम्भावित आपराधिक गतिविधि नियन्त्रण, यात्रुको सुरक्षा तथा दुर्घटना न्यूनीकरणका निम्ति सीमावर्ती क्षेत्र, राजमार्ग र प्रमुख सहरहरूमा विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याइएको हो । चाडपर्व मनाउन घर फर्कने नागरिकलाई ठगी, लुटपाट तथा अरू आपराधिक क्रियाकलापबाट जोगाउन देशभरिका सीमावर्ती क्षेत्रका १०८ स्थानमा नागरिक सहायता कक्ष स्थापना गरिएको प्रहरी प्रवक्ता एवं डी.आई.जी. अविनारायण काफ्लेले जानकारी दिनु भयो । उक्त सहायता कक्षहरूबाट २४ सै घण्टा नागरिकलाई सेवा तथा सुरक्षा सहजीकरण प्रदान भइरहेको छ । सुरक्षा व्यवस्थालाई व्यवस्थित र चुस्त बनाउन प्रदेश प्रहरी कार्यालय, काठमान्डौ उपत्यका प्रहरी कार्यालय र सबै जिल्ला प्रहरी कार्यालयहरूमा ‘कमान्ड सेन्टर’ स्थापना गरिएको उहाँले बताउनु भयो । चाडपर्वका समयमा राजमार्गहरूमा हुने सडक दुर्घटना न्यूनीकरण गर्न प्रहरीले सूचनामा आधारित विशेष जाँच प्रणाली लागु गरेको छ । 

 

विशेष गरी काठमान्डौको नागढुंगा हुँदै चितवन जोड्ने सडकखण्ड र प्रमुख लोकमार्गहरूमा निगरानी तीव्र पारिएको काफ्लेले बताउनु भयो । यात्रुवाहक सवारीसाधन छुट्ने प्रमुख प्रस्थान विन्दुहरूमा नै चालकको अनुमतिपत्र, लागुपदार्थ सेवन ला.प.से. तथा मादकपदार्थ सेवन मा.प.से.को कडा जाँच सुरु गरिएको छ । 

प्रतिकृया दिनुहोस
↑