आनी छोइङको नियुक्ति खारेज नगरे कात्तिक ९ गतेदेखि जेनजीहरुको आन्दोलन गर्ने चेतावनी
काठमान्डौ, २ कार्तिक । राष्ट्रिय जेनजी नागरिक अभियानले लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मालाई गरिएको नियुक्ति खारेज गर्न माग गर्दै कात्तिक ९ गतेदेखि आन्दोलन गर्ने चेतावनी दिएको छ ।
आज राजधानीमा रहेको संवाद डबलीमा पत्रकार सम्मेलन गर्दै अभियानले नियुक्ति प्रक्रिया र त्यसको औचित्यमाथि प्रश्न उठाएको हो । अभियानले डोल्माको नियुक्ति तत्काल खारेज गर्न सरकारसँग माग गरेको छ । अभियानका संयोजक सुनिल सिंहले नियुक्तिले देशभक्त नेपाली नागरिकको अपमान भएको दाबी गर्नुभयो । प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसङ्घको महासभामा बुद्धको उपदेश दिएर सकारात्मक सन्देश दिएको भए पनि लुम्बिनी विकास कोषको उपाध्यक्षमा डोल्मालाई नियुक्त गर्नु विरोधाभासपूर्ण भएको उहाँको भनाइ रहेको थियो । दशैँको मुखमा जनतालाई छलेर नियुक्ति गरिएको आरोप लगाउँदै सिंहले निर्णय खारेज नभए कात्तिक ९ गतेदेखि संघर्षका कार्यक्रम अघि बढाउने बताउनु भयो ।
सिंहले डोल्माको नागरिकता र पृष्ठभूमिमाथि पनि प्रश्न उठाउनु भयो । सन्दुक रुइतको दबाबमा नियुक्ति गरिएको भन्ने कुरा राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूबाटै आएको दाबी गर्दै उहाँले नियुक्तिको निर्णय प्रक्रियाबारे सरकारसँग जवाफ माग गर्नुभयो ।

प्रतिकृया दिनुहोस