.

सेउतामा आप्रवासी प्रवेशबारे ईयूले बोलायो आकस्मिक बैठक

आइतबार , १७ साउन,

 

स्पेन र अन्य सदस्य राष्ट्रबिच आप्रवासन सङ्कटलाई लिएर तनाव बढिरहेका बेला युरोपेली सङ्घ (ईयू) ले सेउतामा देखिएको आप्रवासी संकटबारे छलफल गर्न मंगलबार आकस्मिक बैठक गर्ने भएको छ।

करिब ६० हजार आप्रवासी मोरक्कोबाट स्पेनको अधीनमा रहेको सेउता प्रवेश गरेपछि २२ वटा ईयू सदस्य राष्ट्रले संयुक्त पत्र जारी गर्दै समन्वित कदम चाल्न र ईयूका बाह्य सीमा थप मजबुत बनाउन आह्वान गरेका छन्।

 

 

इटालीले स्पेनसँगको ईयूको सीमा–रहित शेङ्गेन व्यवस्था निलम्बन गरेपछि स्पेनले उक्त प्रतिक्रियालाई ‘स्वार्थी, ध्रुवीकरणकारी र गैरकानुनी’ भन्दै आलोचना गरेको छ। फिनल्यान्ड र डेनमार्कले पनि इटालीको कदमलाई समर्थन गरेका छन्।

 

अधिकारीहरूका अनुसार ३० जुलाईमा सेउता पुगेका लगभग सबै आप्रवासी फर्किसकेका छन्। यसैबिच, ठूलो संख्यामा मानिस सीमा पार गर्ने क्रममा भएको घटनामा मृत्यु हुनेको संख्या कम्तीमा ६७ पुगेको बताइएको छ।

 

ईयूका २२ सदस्य राष्ट्रले पठाएको संयुक्त पत्रमा ‘युरोपेली संघमा गैरकानुनी प्रवेश सम्भव छ भन्ने धारणा सिर्जना गर्न खोजिने हाइब्रिड खतराबारे’ चिन्ता व्यक्त गरिएको छ। यस्तो धारणा बनेमा थप मानिसलाई सीमा पार गर्ने प्रयास गर्न प्रोत्साहन मिल्ने, साझा आप्रवासन नीतिप्रतिको विश्वास कमजोर हुने र त्यसको असर सबै सदस्य राष्ट्रमा पर्ने पत्रमा उल्लेख छ।

 

नेदरल्यान्ड्स, फिनल्यान्ड र बेल्जियमका नेतासहित २२ जनाले हस्ताक्षर गरेको उक्त पत्र ईयूका अध्यक्ष एन्टोनियो कोस्टा, युरोपेली आयोगकी अध्यक्ष उर्सुला फोन डेर लेयेन र आयरल्यान्डका प्रधानमन्त्री माइकल मार्टिनलाई पठाइएको हो। आयरल्यान्डले अहिले युरोपेली संघको परिषद्को अध्यक्षता गरिरहेको छ।

 

यसैबिच, स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेजले फोन डेर लेयेनलाई छुट्टै पत्र पठाउँदै केही युरोपेली सरकारका गतिविधिबारे आफूलाई ‘गम्भीर चिन्ता’ रहेको बताएका छन्।

 

उनले स्पेन सरकारले सीमामाथि पूर्ण नियन्त्रण पुनःस्थापित गरिसकेको र ४८ घण्टाभन्दा कम समयमा ‘अनधिकृत रूपमा मुख्य युरोपतर्फ अगाडि बढ्ने’ कुनै पनि प्रयास रोक्न सफल भएको बताए।

धेरै देशले ‘समर्थन र ऐक्यबद्धता’ देखाए पनि केही युरोपेली सरकारले ‘पूर्वाग्रह, झुटा समाचार, अज्ञानता वा राजनीतिक स्वार्थबाट प्रेरित भएर’ स्पेनमाथि आक्रमण गर्न रोजेको सान्चेजले आरोप लगाए। उनले सेउता शेङ्गेन क्षेत्रमा नरहेको पनि स्पष्ट पारे।

शनिबार प्रहरीले आप्रवासीहरूलाई स्पेनको भूभागबाट बाहिर लैजाँदै गरेको थियो।

शुक्रबार सान्चेजले आप्रवासी तस्करहरूले हालै सर्वोच्च अदालतले गरेको एउटा निर्णयको फाइदा उठाएको आरोप लगाएका थिए। उक्त निर्णयले समुद्री मार्ग हुँदै स्पेन पुगेका मानिसलाई तत्काल देश निकाला गर्ने सरकारको अधिकारलाई सीमित गरेको थियो।

स्पेनका गृहमन्त्री फेर्नान्डो ग्रान्दे–मार्लास्काले शनिबार पत्रकार सम्मेलनमा अवस्था लगभग सामान्य अवस्थामा फर्किएको र पानीको बाटो हुँदै हुने गैरकानुनी आप्रवासन रोक्न सरकारले फुलाउन मिल्ने अवरोध निर्माणमा काम गरिरहेको बताए।

‘लगभग सबै आप्रवासी सेउताबाट बाहिरिइसकेका छन्,’ उनले भने। उनका अनुसार सेउताका व्यवसायहरू पनि पुनः सञ्चालनमा आइसकेका छन्।

सेउतामा आप्रवासीको बाढीले स्पेनलाई कूटनीतिक संकट

यस घटनालाई लिएर भएको आलोचनामा शेङ्गेन क्षेत्रसम्बन्धी चिन्ता पनि जोडिएको छ। शेङ्गेन व्यवस्था युरोपका सदस्य राष्ट्रबिचको सीमा जाँच हटाउने सम्झौता हो, जसले अहिले ४५ करोडभन्दा बढी मानिस र युरोपका २९ देशलाई समेटेको छ।

इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीले स्पेनसँगको इटालीको शेङ्गेन व्यवस्था एक महिनाका लागि निलम्बन गरेकी छन्। फिनल्यान्ड, फ्रान्स र पोर्चुगलले पनि सीमा जाँच पुनः सुरु गर्नेबारे विचार गरिरहेको बताएका छन्।

डेनमार्ककी प्रधानमन्त्री मेटे फ्रेडरिक्सेनले ईयूलाई ‘शेङ्गेन सहकार्य निलम्बन गर्नेसहित सबै विकल्पबारे विचार गर्न’ आग्रह गरेकी छन्।

फोन डेर लेयेनले सेउताबाट सार्वजनिक भएका दृश्यलाई ‘अस्वीकार्य’ भनेकी छन्। सामाजिक सञ्जालमा उनले लेखेकी छन्, ‘हामीले हाम्रा नियम पालना नगरी कसैलाई पनि हाम्रो संघमा प्रवेश गर्न दिन सक्दैनौँ।’

जर्मनीका चान्सलर फ्रिड्रिख मर्जले मोरक्कोलाई ‘गैरकानुनी आप्रवासीलाई तत्काल फिर्ता लैजान’ माग गरेका छन्। शनिबार बेलायतका प्रधानमन्त्री एन्डी बर्नह्यामले आफूले सान्चेजसँग कुराकानी गरेको र बेलायतले ‘सक्दो सहयोग गरिरहेको’ बताएका छन्।

अफ्रिकासँग ईयूको एकमात्र स्थल सीमा

मोरक्कोमा गत वर्ष जेनेरेसन जेडका युवाहरूले सरकारविरोधी प्रदर्शन गरेका थिए। उनीहरूले रोजगारीका अवसर र सार्वजनिक सेवामा सुधारको माग गरेका थिए।

सेउता र मेलिल्ला मिलेर अफ्रिकासँग युरोपेली संघका एकमात्र स्थल सीमा बनाउँछन्। आप्रवासीहरूले समुद्रमा केही किलोमिटर पौडिएर सेउता प्रवेश गर्ने प्रयास गर्छन्।

यस वर्ष सेउतामा देखिएको आप्रवासीको ठूलो लहर असाधारण भए पनि युरोप पुग्न खोज्ने आप्रवासीका लागि सेउता लामो समयदेखि महत्वपूर्ण प्रवेशबिन्दु रहँदै आएको छ। विशेषगरी गर्मीयाममा सेउता प्रवेश गर्ने प्रयास बढ्ने गर्छ, जसको समन्वय प्रायः सामाजिक सञ्जालमार्फत हुने गरेको बताइन्छ।

२०२१ मा केही दिनकै अवधिमा करिब ८ हजार मानिस सेउता प्रवेश गरेका थिए। त्यस घटनाले स्पेन र मोरक्कोबीचको कूटनीतिक तनाव झन् बढाएको थियो।

स्पेनको आप्रवासनप्रतिको नीति तुलनात्मक रूपमा उदार मानिन्छ। अप्रिलमा स्पेन सरकारले ५ लाख गैरकानुनी रूपमा बसिरहेका आप्रवासीलाई कानुनी हैसियत दिने योजना स्वीकृत गरेको थियो। यसबाट उनीहरूलाई औपचारिक रूपमा श्रम बजारमा समाहित हुने बाटो खुल्नेछ।

प्रतिकृया दिनुहोस