नाइजेरियाको जामफारामा बन्दुकधारीको आक्रमण
काठमान्डौ, १८ श्रावण । नाइजेरियाको जामफारा राज्यमा बन्दुकधारी समूहले एक सैनिक चौकीमाथि आक्रमण गरेपछि गाउँमा छापा मार्दै बालबालिकासहित कम्तीमा ५२ जनालाई अपहरण गरेको स्थानीय बासिन्दाहरूले बताएका छन् ।
अपहरणको यो घटनाले राज्यमा बढ्दो सुरक्षा संकटलाई पुनः उजागर गरेको छ । स्थानीय स्रोतका अनुसार मोटरसाइकलमा आएका आक्रमणकारीहरूले नमोदा स्थानीय प्रशासन अन्तर्गतको कासुवार दाजी गाउँमा धावा बोलेका थिए। उनीहरूले सुरुमा गाउँबाहिर रहेको सैन्य चौकीमा आक्रमण गरी त्यहाँबाट हतियार कब्जा गरेका थिए। साथै सैन्य गस्तीमा प्रयोग हुने सवारीसाधनमा आगजनी गरेपछि गाउँभित्र प्रवेश गरेर घर–घरमा पुग्दै सर्वसाधारणलाई नियन्त्रणमा लिएका थिए ।
स्थानीय बासिन्दा शेहु अब्दुल्लाहीका अनुसार आक्रमणकारीहरूले सुरुमा १०० भन्दा बढी मानिसलाई नियन्त्रणमा लिएका थिए। केहीलाई पछि मुक्त गरिए पनि अन्ततः ५२ जनालाई साथ लगिएको छ। अपहरणमा उहाँकी १२ वर्षीया छोरी पनि परेकोे बताउनु भयो ।

प्रतिकृया दिनुहोस