आज र भोलि ठूलो पानी पर्ने सम्भावना, काठमान्डौ उपत्यकासहित ३७ वटा जिल्लामा बाढीको जोखिम
काठमान्डौ, १७ श्रावण । आज देशका थोरै ठाउँमा मुसलधारे पानी पर्ने सम्भावना रहेको छ । अरू ठाउँमा पनि हल्कादेखि मध्यमसम्मको वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्व अनुमान महाशाखाले जनाएको छ ।
बाढी पूर्व अनुमान महाशाखाका अनुसार मनसुन सक्रिय रहेको र पानी पर्ने क्रम पनि बढेसँगै आज काठमान्डौ उपत्यका सहित ३७ जिल्लामा बाढीको जोखिम रहेको छ । आज काठमान्डौ, भक्तपुर, ललितपुरसहित आसपासका जिल्ला काभ्रे, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङमा बाढीको जोखिम छ । त्यस्तै संखुवासभा, सोलुखुम्बु, दोलखा, रामेछाप, मकवानपुर, पर्सा, बारा, स्याङ्जा, पाल्पा, गुल्मी, बागलुङ, चितवन, डडेल्धुरा, कैलाली, कञ्चनपुर लगायत आसपासका जिल्ला भएर बग्ने स–साना नदीमा पानीको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाले खोला÷नदी तटीय क्षेत्रमा आकस्मिक बाढी आउन सक्ने भएकाले सावधानी अपनाउन पनि आग्रह गरेको छ ।
आज दिउँसो देशका पहाडी भागका धेरै ठाउँमा मध्यमसम्मको वर्षा तथा तराईका केही ठाउँमा पनि मध्यमसम्मको वर्षा भएको थियो । कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भागका एक÷दुई ठाउँमा ठूलो पानी पर्ने भएकाले सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । आज राति र भोलि पनि पहाडी र तराई भागका थोरै ठाउँमा ठूलो तथा एक÷दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको छ । मौसमका जानकार उज्ज्वल उपाध्यायका अनुसार मनसुन पूर्ण सक्रिय रहेको र भोलि सोमबारसम्म देशैभरि वर्षाको सम्भावना रहेको छ ।

प्रतिकृया दिनुहोस