उपभोक्ता अधिकारकर्मीहरुद्धारा ग्यासको अभाव नहुने गरी दीर्घकालीन समाधान खोज्न सुझाव
काठमान्डौ, १९ श्रावण । खाना पकाउने एलपी ग्यासको अभाव नहुने गरी दीर्घकालीन समाधान खोज्न उपभोक्ता अधिकारकर्मी र अरू सरोकारवाला निकायले नेपाल आयल निगमलाई सुझाव दिएका छन् ।
अहिले बजारमा खाना पकाउने ग्यासको अभाव छ । आज बसेको संसद्को उद्योग, वाणिज्य तथा श्रम एवम् उपभोक्ता हित समितिको बैठकमा उपभोक्ता अधिकारकर्मीले निगमले उचित व्यवस्थापन गर्न नसकेको बताएका छन् । यस्तै नेपाल एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष दिवानबहादुर चन्दले सरकारको नीतिका कारण बजारमा ग्यासको हाहाकार भएको दाबी गर्नुभयो ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव नारायणप्रसाद शर्मा दुवाडीले ग्यास अभाव नभए पनि वितरण प्रणालीमा देखिएको समस्याका कारण अभाव देखिएको बताउनुभएको छ । भरी ग्यास वितरण गर्न थालेपछि बजारमा एक्कासी सिलिन्डर आउँदा वितरणमा चाप बढेको उहाँको तर्क छ । सचिव दुवाडीका अनुसार यसअघि मासिक ४६–४७ हजार मेट्रिक टनको हाराहारीमा रहेको ग्यासको माग अहिले बढेर झन्डै ६० हजार मेट्रिक टन पुगेको छ ।

प्रतिकृया दिनुहोस