आई.सी.सी. विश्वकप क्रिकेट लिग–२ शृङ्खलामा नेपालको लगातार दोस्रो जीत
काठमान्डौ, २७ असोज । आई.सी.सी. विश्वकप क्रिकेट लिग–२ शृङ्खला अन्तर्गत त्रिदेशीय एकदिवसीय खेलमा नेपालले लगातार दोस्रो जीत हासिल गरेको छ ।
आज भएको खेलमा नेपालले घरेलु टोली ओमानलाई ११३ रनले हराएको हो । नेपालले दिएको २६४ रनको लक्ष्य पछ्याएको ओमानले ४० ओभरमा १५० रन बनाउँदा सबै विकेट गुमाएको थियो । ओमानका कप्तान विनायक शुक्लाले ७७ रन बनाएका थिए । ४१ रन बनाउँदा ६ विकेट गुमाएको अवस्थामा ओमानका शुक्ला र जे ओडेद्राले सातौँ विकेटका लागि ८३ रनको साझेदारी गरको थिए । नेपालका कप्तान सन्दीप लामिछाने र नन्दन यादवले समान ३÷३, दीपेन्द्रसिंह ऐरीले २ तथा करण केसी र ललित राजवंशीले १÷१ विकेट लिए । यसअघि अल अमिरात क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाएर २६३ रन बनायो । यो शृङ्खलाको पहिलो खेलमा नेपालले अस्ति आइतवार क्यानडालाई २४ रनले हराएको थियो ।
योसँगै नेपाल लिग–२ मा ३४ खेलबाट २८ अङ्कसहित छैटौँ स्थानमा रहेको छ । यस्तै ओमान ३० खेलबाट ३३ अङ्कसहित चौथो र क्यानडा ३४ खेलबाट २५ अङ्कसहित सातौँ स्थानमा रहेको छ । लिग–२ मा शीर्ष–४ बाट बाहिरिइसकेको नेपालका लागि एकदिवसीय मान्यता जोगाउन शीर्ष–६ भित्र पर्नुपर्ने भएको छ ।

प्रतिकृया दिनुहोस