बढ्दो महंगीको विरोधमा सुरु भएको आन्दोलनले आक्रान्त बन्यो युरोप, फ्रान्सको आन्दोलन हिंसात्मक बन्दै
काठमान्डौ, २ कार्तिक । बढ्दो महँगी, आवास सङ्कट, बेरोजगारी, कमजोर सार्वजनिक सेवा र सरकारी नीतिको विरोधमा युरोपका विभिन्न देशमा व्यापक प्रदर्शनहरु भइरहेका छन् ।
फ्रान्स, अल्बानिया, इटाली, पोर्चुगल, स्पेन र ग्रिसमा भएका प्रदर्शनले ती देशका सरकारमाथि दबाब बढाएको हो । कतिपय देशमा प्रदर्शन शान्तिपूर्ण रहेपनि केही स्थानमा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा हिंसात्मक अवस्था सिर्जना भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । युरोपेली सङ्घका सदस्य राष्ट्रहरूमध्ये फ्रान्स, इटाली र पोर्चुगलमा महँगी तथा सार्वजनिक सेवासम्बन्धी असन्तुष्टि देखिएको छ। यस्तै, अल्बानियामा भ्रष्टाचार, रोजगारीको अभाव र शिक्षा प्रणालीको अवस्थालाई लिएर सरकारविरोधी आन्दोलन चर्किएको छ। स्पेनमा आवासको अधिकार र बढ्दो घरभाडा मुख्य मुद्दा बनेका छन् भने ग्रिसमा तेल प्रशोधन केन्द्रका कामदारले कार्यस्थलको सुरक्षाको माग गर्दै प्रदर्शन गरेका छन् । युरोपका विभिन्न देशमध्ये फ्रान्समा प्रदर्शनले सबैभन्दा गम्भीर रूप लिएको हो ।
राजधानी पेरिसको दक्षिणपूर्वी क्षेत्र क्रेतईको सेन्ट–एक्जुपेरी माध्यमिक विद्यालयका शिक्षकहरूले कर्मचारी अभावको विरोधमा हडताल गरेपछि आन्दोलन सुरु भएको थियो । फ्रान्सका केही अधिकारीले प्रदर्शनका क्रममा हिंसा भड्काउन कट्टरपन्थी वामपन्थी समूह जिम्मेवार रहेको आरोप लगाएका छन् ।

प्रतिकृया दिनुहोस