दार्चुलाको हुति गाउँको अनौठो हरिण जात्रा
बुधबार, ४ कार्तिक
हिमालको काख, महाकालीको तट र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको धार्मिक आस्थाको जगमा उभिएको अद्भुत सांस्कृतिक परम्परा ‘हरिण जात्रा’ सुदूरपश्चिमको एक विशिष्ट पहिचान हो।
सुदूरपश्चिमको दार्चुलास्थित ब्यास गाउँपालिका–६, हुति गाउँमा हरेक वर्ष विजयादशमी अर्थात् टीकाको दिन मनाइने यो जात्रा केवल उत्सव मात्र होइन; इतिहास, अध्यात्म, लोकविश्वास र नेपाली मौलिक संस्कृतिको जीवन्त दस्ताबेजसमेत हो।
हरिण जात्राको दिन करिब एक किलोमिटर टाढाबाट तीन जना व्यक्तिलाई कलात्मक ढङ्गले शृङ्गार गरी हरिणको स्वरूप दिइन्छ। स्थानीय महिला, पुरुष तथा वृद्धवृद्धाहरू मौलिक वेशभूषामा सजिएर दमाहा बाजाको तालमा नाच्दै र गाउँदै अघि बढ्छन्।
उल्लास, उमङ्ग र धार्मिक श्रद्धाले भरिएको यो सांस्कृतिक यात्रा नौलाकेदार अर्थात् दुर्गा भवानीको मन्दिर प्राङ्गणमा पुगेर समापन हुन्छ। प्रकृति, देवता र मानव समुदायबीचको सम्बन्धलाई जीवन्त बनाउने यो दृश्यले जोकोहीलाई आकर्षित गर्छ। हरिण जात्रा कहिलेदेखि सुरु भयो भन्ने यकिन ऐतिहासिक प्रमाण भने उपलब्ध छैन।
तर स्थानीय समाजसेवी ८० वर्षीय प्रेमसिंह कुँवरका अनुसार यो परम्परा निकै पुरानो हो। जात्राको उत्पत्तिबारे स्थानीय समाजमा विभिन्न किंवदन्ती, जनश्रुति र धार्मिक मान्यताहरू प्रचलित छन्। जनश्रुतिअनुसार, नौला देवता अर्थात् भगवती आफ्नो अधिकार र परिचय स्थापित गर्न हरिणमा सवार भएर हुति गाउँस्थित ब्रह्ममाण्डौंमा विराजमान ब्राह्मणी देवीको शरणमा पुगेकी थिइन्।

प्रतिकृया दिनुहोस