नेपाल प्रिमियर लिगमा विराटनगरले जनकपुरलाई २ रनले हराएसंगै अङ्क तालिकाको शीर्ष स्थानमा उक्लियो
काठमान्डौ, १७ कार्तिक । नेपाल प्रिमियर लिग एन.पी.एल. मा विराटनगर किङ्ग्सले जनकपुर बोल्ट्समाथि २ रनको रोमाञ्चक जीत हासिल गरेको छ ।
आज विराटनगरले दिएको १७५ रनको लक्ष्य पछ्याएको जनकपुरले २० ओभरमा ७ विकेट गुमाएर १७२ रन बनाएको थियो । जनकपुरका सैफ हसनले ७१, विशाल शुस्लिङले ४३, जेम्स नीशमले २७ रन बनाएका थिए । विराटनगरका आन्द्रे रसेलले ४, एन्जेलो म्याथ्युजले २ विकेट लिएका थिए । त्यसअघि कीर्तिपुरको त्रि.वि. अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ३ विकेट गुमाएर १७४ रन बनाएको थियो । विराटनगरका इमरान शेखले ५६, आन्द्रे रसेलले नटआउट ५२, लोकेश बमले ५० रन बनाएका थिए ।
यो जीतसँगै विराटनगर ४ खेलमा ४ अङ्कसहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । जनकपुर ४ खेलमा ४ अङ्कसहित नेट रन रेटका आधारमा तेस्रो स्थानमा रहेको छ । एन.पी.एल.मा आजको दोस्रो खेलमा लुम्बिनी लायन्स र पोखरा एभेन्जर्से खेलेका थिए । आठ वटा टोली सहभागी तेस्रो संस्करणको एन.पी.एल. आउँदो मङ्सिर ५ गतेसम्म हुने भएको छ ।

प्रतिकृया दिनुहोस